विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मतले पारित भएको हो ।
विधेयकमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र शोभा चेम्जोङले संशोधन प्रस्ताव राखेका थिए । प्रदेशसभा सदस्य बस्नेतले संशोधन प्रस्ताव अस्वीकार भएको थियो भने प्रदेशसभा सदस्य चेम्जोङले प्रस्ताव फिर्ता लिएका थिए ।
आजको बैठकमा ‘कोशी प्रदेशमा सरकार कामकाजको भाषा सम्बन्धममा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उक्त विधेयक प्रस्ताव गरेका थिए ।
उनले भाषा आयोगले यस प्रदेशमा १४ वटा भाषाको सिफारिस गरेपनि अहिलेलाई लिम्बू र मैथिली भाषा सरकारी कामकाजका लागि बनाउने भन्दै यसमा सरकारको आर्थिक भार थपिएको खुलासा गरे ।