काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रियामा महामन्त्री थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए ।
उनले उहाँहरुले नेपालमा ठूलो योगदान गरेकाले अब संरक्षकको भूमिकामा बस्नुपर्ने बताए । उनले भने, ‘उहाँहरुको अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरुप्रति । उहाँहरुले नेपालमा ठूलो योगदान गर्नुभएको छ । तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ । त्यसैले तीन दलका तीन शीर्ष नेताले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थें ।’
उनले नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै राजनीति फोहोर जमेको पोखरी जस्तो भएको टिप्पणी गरे । आफू युवा हुँदादेखि अहिले ५० वर्ष हुन लाग्दा समेत उही पूराना देशको सबैभन्दा ठूलो नेताका रुपमा रहेको भन्दै उनले आपत्ति जनाए ।
महामन्त्री थापाले पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बदल्नुपर्ने बताए ।
उनले भने,‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ । यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ । यस्तो लोकतन्त्रमा कहीँ हुँदैन । म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठूलो नेता शेरबहादुर देउवा र केपी शर्मा ओली र प्रचण्ड नै । म अहिले ५० वर्ष हुन लाग्दा समेत उहाँहरु नै हुने कुरा लोकतन्त्रमा यस्तो हुँदैन ।’