दैलेखमा तीजको नाचगान हेरेर फर्किँदै गरेकी बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

दैलेख । दैलेखमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । शुक्रबार राति १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाही छन् ।

उनीहरुलाई शनिबार बेलुकी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिएका छन् । बालिकाका अभिभावहरुले किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । शुक्रबार तीजको अवसरमा भएको नाचगान हेरेर फर्किँदै गर्दा बालिकामाथि उनीहरूले सामूहिक बलात्कार गरेका थिए ।

तीज मेलाबाट साथीहरूसँग फर्कँदै गर्दै जंगलनजिक पुगेपछि ती दुई पुरूषले लखेटेको जाहेरीमा उल्लेख छ । बालिकाहरू भाग्न थालेपछि उनीहरूले लखेट्दै ढुंगा हानेका थिए। उनीहरूले हानेको ढुंगा लागेर ती बालिका लडेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी बरालले जानकारी दिए ।

बालिका लडेपछि उनीमाथि दुई जनाले पालैपालो बलात्कार गरेका थिए । यता सँगै गएका बालिकाहरू भागेर गाउँ पुगेपछि गाउँलेहरूलाई घटनाबारे जानकारी दिएका थिए । त्यसपछि अभिभावकहरू र स्थानीय पुगेर बालिकाको उद्धार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *