काठमाडौँ । गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनलाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकले साथ दिएका छन् । निर्माण पक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित भई तयार गरिएको भए तापनि दुवैको प्रस्तुतीकरण फरक भएकाले दर्शकको मन जित्न चलचित्र सफल भएको हो ।
चलचित्र प्रदर्शनको दोस्रो दिन जनैपूर्णिमा र रक्षाबन्धनमा दर्शकको चाप चलचित्र भवनमा देखिएको र यसले गाईजात्रापछि पनि निरन्तरता पाउनेमा दुवै चलचित्रका निर्माणपक्ष विश्वस्त छन् ।
चलचित्र ‘मोहर’ले देवीदेवताको सेवाका नाममा अवोध कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिए । उनले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने सन्देश प्रवाह गर्ने बताए ।
‘मेरो जानकारीमा भएसम्म केही वर्ष अगाडिसम्म देउकी प्रथा चलेको थियो । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिकामाथि हुने गरेको हिंसालाई बन्देज गर्नुपर्छ भन्ने सन्देश चलचित्रले प्रवाह गर्छ । यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उठान गरिएको चलचित्र हो’, उनले भने ।
उनले चलचित्रका माध्यमबाट धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको जानकारी दिए । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङग शाही, मिस पविलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा भूपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।
प्रदर्शनरत अर्को चलचित्र ‘सिटामोल’ द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको छ । उक्त चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम चलचित्रले गर्ने दाबी गरे ।
उनले भने, ‘विगतमा मैले गरेको कामभन्दा यो निकै फरक छ । यसपटक मैले रोजेको कथा र त्यसमा लेखिएका चरित्रलाई जीवन्त बनाउनुभएका कलाकारले गर्दा भिन्न रूपमा आएको छु । यो चलचित्रले माओवादी द्वन्द्वकालमा घाइते भएको एक व्यक्ति र उसको परिवारको कथालाई समेटिएको छ ।’
अभिनेता सौगात मल्लले पनि चलचित्रमा जोडिनाका कारण विषय र युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्ष रहेको बताए ।
‘समाज र देश परिवर्तन गर्न युद्धमा होमिएको एउटा व्यक्तिले आफ्नो जीविकोपार्जनका लागि गर्नुपरेको सङ्घर्षलाई चलचित्रमा देखाएका छौँ । यो एउटा द्वन्द्वको प्रभाव परेको व्यक्ति र उसको परिवारको कथा हो । यसले हाम्रो सोचाइमा परिवर्तन ल्याउँछ जस्तो लाग्छ’, अभिनेता मल्लले भने ।
चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मीलगायत कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रको कथा निर्देशक सुनुवारसँगै प्रदीप भारद्वाजले लेखेका छन् । पछिल्लो समय चाडपर्वको अवसरमा प्रदर्शित गर्ने नेपाली चलचित्रले दर्शकको साथ पाउने गरेका छन् ।