उत्तर कोरियाद्वारा सीमा क्षेत्रमा प्रचार–प्रसारका स्पिकर हटाउन सुरु

बीबीसी । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले दुवै देशको सीमामा रहेका केही प्रचार–प्रसारका स्पिकर हटाउन थालेको जनाएको छ । यो कदम नयाँ निर्वाचित दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगको अन्तर–कोरियाली सम्बन्ध सुधार्ने प्रतिवद्धताको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

यसअघि, दक्षिण कोरियाले पनि आफ्ना केही स्पिकर हटाएको थियो। राष्ट्रपति लीले जुन महिनामा पदभार ग्रहण गरेलगत्तै असैन्य क्षेत्रमा प्रसारण रोकिएको थियो, जसको जवाफस्वरूप उत्तर कोरियाले पनि यस्तै कदम चालेको हो ।

दक्षिणको प्रसारणमा प्रायः के–पप गीत र समाचार प्रसारित हुन्थे भने उत्तरले ब्वाँसोको आवाजजस्ता असहज ध्वनि बजाउँथ्यो । विज्ञप्तिमा दक्षिण कोरियाली सेनाले भनेको छ, ‘आज बिहानदेखि सीमाक्षेत्रका केही भागमा उत्तर कोरियाली सैनिकहरूले प्रचार–प्रसार गर्ने स्पिकर हटाइरहेको देखिएको छ।’ सेनाले थपेको छ, ‘यी उपकरणहरू सबै क्षेत्रमा हटाइएका छन् कि छैनन् भन्ने अझै पुष्टि भएको छैन, र निगरानी जारी रहनेछ।’

प्रचार–प्रसारका स्पिकर प्रसारण यसअघि पनि रोकिएका थिए। तर, ६ वर्षपछि २०२४ को जुन महिनामा उत्तरले दक्षिणतर्फ फोहोरले भरिएका बेलुन पठाउने अभियानको प्रतिक्रियामा पुनः सुरु गरिएको थियो । सीमावर्ती बासिन्दाहरूले दुवै पक्षबाट आउने आवाजले, कहिलेकाहीँ रातमा समेत, आफ्नो दैनिक जीवनमा असर परेको गुनासो गरेका थिए।

सियोलको दाबी अनुसार, यी प्रसारणहरू दिनमा १० किलोमिटर र रातमा २४ किलोमिटरसम्म सुनिन्थे । दक्षिण कोरियाले जुन महिनामा प्रसारण रोक्दा उत्तरको मानवअधिकार सुधारका पक्षधर समूहहरूले आलोचना गरेका थिए । उत्तर कोरियाले राज्य स्थापना देखिनै दक्षिणसँग पुनः एकीकरणलाई मुख्य विचारधारा माने पनि, नेता किम जोङ उनले २०२४ मा यस लक्ष्यलाई त्यागेका थिए । दुवै देश १९५३ को युद्धविरामपछि शान्ति सम्झौता नगरेकाले अझै प्राविधिक रूपमा युद्धकै अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *