काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसबीच वर्तमान सरकारलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको छ ।
दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको शनिबार भएको बैठकले सरकार सञ्चालन, बजेट कार्यान्वयन र प्रदेश सरकारअन्तर्गत खाली रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल गरी गठबन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाहले जानकारी दिए ।
उनले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समीक्षासँगै सरकारलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए । काँग्रेस-एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको भन्दै अध्यक्ष शाहले दुई दलबीच सरकारलाई थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए ।
“सत्ता गठबन्धनमा खटपट भएको भनेर खरब आइरहेका छन्, ती सत्य होइनन् । आजको बैठकले सबै कुराको समीक्षा गर्दै सरकारका काम थप प्रभावकारी बनाउने, खाली रहेका निकायमा तत्काल नियुक्त गर्नेलगायत विषयमा साझा धारणा तय गरेको छ”, उनले भने ।
बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, काँग्रेस कर्णाली प्रदेश सभापति शाही, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र अध्यक्ष शाहलगायत सहभागी थिए ।