पोखराबाट साढे ६ किलो सुन र पाँच किलो चाँदीसहित ११ भारतीय पक्राउ

पोखरा । कास्की प्रहरीले ठूलो परिमाणमा सुनचाँदीसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले ६ किलो ४ सय तोला सुन र चारसय ४४ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका घर भई पोखरामा कालीगढको काम गर्ने ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी रहेका छन्। उनीहरूलाई पोखरा महानगरपालिका–२, ३, ४ र ९ नम्बर वडामा अवैध सुन–चाँदी कारोबार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

शुक्रबार अपराह्न सूचना पाएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोली अपरेसनमा खटिएको थियो ।

प्रहरीले उक्त अपरेसनलाई ‘अपरेसन यलो मेटल’ नाम दिएको हो । उनीहरूको साथबाट ५ सय ४९ तोला ४० लाल(६ किलो ४ सय ग्राम) सुन, ४ सय ४४ तोला ७३ लाल (५ किलो ३ सय ग्राम) चाँदी र ५ लाख १४ हजार ६ सय ६५ नगद बरामद भएको एसपी ओलीयाले बताए।

पक्राउ परेकाले भारतबाट सुन ल्याई पोखरामा प्रशोधन गरी बेचबिखन गर्ने गरेको तथ्य फेला परेको उनले जानकारी दिए । बजार मूल्यअनुसार बरामद सुनको मूल्य ११ करोड १ लाख ४ हजार रुपैयाँ र चाँदीको मूल्य १० लाख ३९ हजार रुपैयाँ पर्छ । पक्राउ परेका ११ जनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जानकारी एसपी श्यामबाबु ओलीयाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *