काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । डल्लुस्थित खनाल निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।
अध्यक्ष माधवकुमार नेपालसँग आरोपप्रत्यारोप चलिरहेका बेला खनाल र गौतमबीच भेटवार्ता भएको हो । समसामयिक राजनीतिका विषयमा दुई नेताबीच संवाद भएको खानलको सचिवालयले जानकारी दिएको छ ।
पार्टी अध्यक्ष नेपाल र पार्टीका सम्मानित खनालबीच तिक्तता बढ्दै गएको छ । सार्वजनिक कार्यक्रममा नै एकले अर्काको आलोचना गर्ने क्रम बढेको छ ।
एक टेलिभिजन अन्तरवार्तामा खनालले एमालेसँग विद्रोह सुरु गर्नु गलत भएको बताएपछि दुई नेताबीच एकअर्कालाई आलोचना गर्ने क्रम बढेको हो । खनालले यस्तो बताएपछि अध्यक्ष नेपालले पार्टी छाडेर जान आग्रह गरेका थिए । शुक्रबार पनि अध्यक्ष नेपालले खनालमाथि आक्रोश पोखेका थिए ।
नेपालको भनाई थियो, ‘मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो त ? विद्रोह ठिक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ।’