काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा गएको बाढी पहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका करिब १३ जना परेको आशंका गरिएको छ ।
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएकाले खोजीका लागि परराष्ट्र मन्त्रालयलाई पहल गर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ । हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’