संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पास

काठमाडौँ । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पास भएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । समितिको सचिवालयले प्रतिवेदन लेखन सकाएपछि विधेयक प्रतिनिधिसभामा पेस हुनेछ ।

समितिमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ । जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने सहमति भएको छ । यसअघि, उपसमितिको प्रतिवेदनमा शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था थियो ।

त्यस्तै, नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पनि पारित भएको छ ।

बैठकले महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था पारित गरेको हो ।

त्यसैगरी समितिको बैठकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित भएको छ । समितिको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको हो ।

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा ८० प्रतिशत गर्ने प्रस्ताव पारित भएको हो । एसईई प्रदेशस्तरमा हुने, ईसीडी २ वर्ष हुने, जिल्लामा शिक्षा ईकाई रहने, निजी स्कुल गैरनाफामूलकउन्मुख हुनेलगायत विषय यसअघि नै टुंगो लागिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *