सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित ने पेमा छाल भनी चिनिने धार्मिक तीर्थस्थलमा चर्चित गायिका आनी छोइङ डोल्माले ध्यान साधना केन्द्र स्थापना गरेकी छन् ।
आठौ शताब्दीमा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्म सम्भव, नेपाल हुँदै भोट जाने क्रममा यस स्थानमा ध्यान तपस्या गरेका थिए । उनको भर्चे लम्सल भन्ने साधना पुस्तकमा यस तीर्थस्थलको बारेमा व्याख्या गरिएको छ। बौद्ध शास्त्र अनुसार ८ वटा मुख्य महान गुप्त तीर्थस्थलहरुमध्ये ने पेमा छाल एक पर्दछ ।
समुद्री सतहबाट करिब ३ हजार मिटर उचाइमा घना जङ्गलको बीचमा उच्च हिमाली क्षेत्रमा रहेको यस तीर्थस्थल, प्राकृतिक सुन्दरताहरूले भरिपूर्ण रहेको छ। खोलाको किनार सँगै फराकिलो चौरको छेवैमा उत्तरपट्टि रहेको विशाल चट्टानी पहाडमा ध्यान स्थल बनेको छ। यस र्थिस्थल लाई स्थानीय भाषामा तोङ स्योङ फुग् भनिन्छ ।
जसको अर्थ हजार मानिसहरू अट्ने गुफा भनेर बुझिन्छ । पद्म सम्भवले ध्यान तपस्या गरेर सिद्धता प्राप्त गरेको यस तपोभुमिको विशेष महत्व रहेको मानिन्छ । काठमाडौँबाट मेलम्ची, हेलम्बु, आमा याङ्री, बगाङ गुम्बा हुँदै यस तिर्थस्थलसम्म यात्रा गर्न सकिन्छ।