काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ । बिहीबार बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमितिले गरेको सहमतिलाई पारित गरेको हो ।
जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने सहमति भएको छ । यसअघि, उपसमितिको प्रतिवेदनमा शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था थियो ।
त्यस्तै, नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पनि पारित भएको छ । बैठकले महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था पारित गरेको हो ।
त्यसैगरी समितिको बैठकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित भएको छ । समितिको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको हो ।
शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा ८० प्रतिशत गर्ने प्रस्ताव पारित भएको हो ।