काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन मिडिया प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता गर्नुपर्ने आदेश एकतन्त्रीय पञ्चायतकालीन प्रावधानकै निरन्तरता रहेको बताएको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गरी सरकारको कदम संविधानको परिकल्पनाभन्दा बाहिरको विषय भएको बताएको हो । महासंघले भनेको छ, ‘विद्यमान संविधानले परिकल्पना नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरणको व्यवस्था संविधानको प्रावधान र संघीय शासन प्रणाली विपरित रहेको महासंघको ठहर छ । यो व्यवस्थालाई पत्रपत्रिका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता गर्ने एकतन्त्रीय पञ्चायतकालीन प्रावधानकै निरन्तरताका रुपमा लिन सकिन्छ।’
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ठाडो आदेशमा सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य स्थगन गर्नुले थप सन्देह पैदा गरेको महासंघको भनाइ छ ।
महासंघले भनेको छ, ‘एकातिर दीर्घकालीन प्रभाव पार्ने कानुनी व्यवस्था कार्यान्वयनमा आउनु, अर्कोतिर दर्ता भई सञ्चालनमा रहेका करिब ५ हजार अनलाइन सञ्चारमाध्यमको अवस्था के हुने, नवीकरण कहाँ के कसरी गर्ने भन्ने अन्यौलताबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ठाडो आदेशमा सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य हठात स्थगन गर्नुले थप सन्देह पैदा गरेको छ ।’