एमालेले भन्यो-स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला

काठमाडौँ । नेकपा एमालेले पनि निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ प्रति असहमति जनाएको छ ।

एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको बताए ।

सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको असहमति रहेको उनले बताए । आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य केही मध्यम तथा साना दलहरूको बैठकले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्कन कार्यविधि’ संविधानविपरीत रहेको निष्कर्ष निकालेको थियो ।

बुधबार माओवादी अध्यक्ष प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै विरोध गरेको थियो । बैठकले यसकाविरुद्ध आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *