रुपन्देही । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटेका छन् ।
पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले बिहीबार बिहान लामिछानेलाई भेटेका हुन् । उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भएपनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए ।
लामिछानेसँगको भेटपछि भट्टराईले रविलाई पत्रपत्रिका समेत पढ्न नदिएको पाइएको बताए। उनले भने, ‘उहाँलाई पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । पन्चायतकालमा हामी बस्दा पनि साथीहरूले ल्याएर दिन्थे, पढ्ने गथ्र्यौं । मैले प्रहरीलाई सोधेँ उहाँहरूले आदेश छैन भन्नुभयो, कमसेकम सूचनाबाट वञ्चित गर्न हुँदैनथ्यो। राखेको ठाउँ पनि उचित लागेन, माथि सम्बन्धित ठाउँमा पनि भन्छु।’
उनले जनताको प्रतिनिधि भएको व्यक्ति भागेर कतै नजाने भएकाले जमानतमा छाड्नुपर्ने आफ्नो भनाई रहेको बताए । उनले यसरी जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताए ।