काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिको नामावली सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार सूची सार्वजनिक गरेको हो ।
उपनिर्वाचनमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका पार्टीका रुपन्देही निर्वाचन इन्चार्ज विपिन आचार्यले जानकारी दिए ।
रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । उम्मेदवारी दर्ता शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सक्ने आचार्यले जानकारी दिए ।
यी उम्मेदवारप्रति केही गुनासा वा उजुरी भए केन्द्रीय निर्वाचन आयोग समक्ष दर्ता गर्न सकिने आचार्यले बताए । साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्ने, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने आचार्यले बताए । उनकाअनुसार भदौ १२ गते बिहानदेखि साँझ ५ बजे प्रारम्भिक निर्वाचन हुनेछ ।