सैन्य हेलिकप्टर दुर्घटना हुँदा घानामा मन्त्रीसहित ८ जनाको मृत्यु

घाना । घानामा बुधबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा देशका रक्षा र वातावरण मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ । सरकारका अनुसार दुर्घटनामा दुई वरिष्ठ अधिकारी र चार चालक दलका सदस्यको पनि मृत्यु भएको छ ।

राजधानी एक्क्राबाट बिहान उडेको हेलिकप्टर सुनखानी क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा आदान्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । उडानकै क्रममा रडारबाट सम्पर्क टुटेको र पछि खोजी गर्दा जंगलमा हेलिकप्टरको भग्नावशेष फेला परेको सेनाले जनाएको छ ।

मृतकमध्ये रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह, वातावरण मन्त्री इब्राहिम मुर्तला मुहम्मद, सत्तारूढ नेसनल डेमोक्र्याटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, र वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद रहेका छन् ।

सेनाले चार चालक दलका सदस्यको पनि मृत्यु पुष्टि गरेको छ । सरकारले दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ को रूपमा घोषणा गर्दै गहिरो शोक व्यक्त गरेको छ। मन्त्री बोआमाहको निवास र पार्टी मुख्यालयमा शोक व्यक्त गर्न समर्थकहरूको भीड लागेको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। सेनाले घटनाबारे विस्तृत छानबिन सुरु गरिसकेको जनाएको छ । यसअघि सन् २०१४ मा पनि घानाको समुद्री किनार नजिक सेवा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। सन् २०१२ मा कार्गो विमान एक्क्रामा धावनमार्गबाट चिप्लिएर यात्रु बसमा ठोक्किँदा १० जनाले ज्यान गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *