काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नैतिकता प्रदर्शन गर्न सुझाव दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले रास्वपालाई पुराना दलहरूभन्दा बढी संस्कार प्रस्तुत गर्ने प्रयास गर्न सुझाव दिएका हुन् ।
उनले रास्वपाका नेताहरूलाई आफूभित्र रहेका गल्ती, कमजोरीविरुद्ध बोल्न आग्रह गरे । उनले भने, ‘नयाँ दलले हामीभन्दा बढी नयाँ संस्कार प्रस्तुत गर्ने प्रयास गरोस् । बोल्नुस् । आफैँ भित्रका त्रुटि, कमजोरी, गल्तीहरूका विरुद्ध पनि बोल्नुस् ।’
महामन्त्री शर्माले रास्वपालाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिए । उनले भने, ‘रास्वपाका मित्रहरूलाई तीन ‘अ’बाट मुक्त हुन् मेरो सुझाव छ । अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस् ।’
महामन्त्री शर्माले तथ्याङ्कका आधारमा रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा धेरै मानिस भिजिट भिसामा विदेश गएका भन्दै भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग तुलाना नगर्न आग्रह गरेका छन् ।
त्यस्तै उनले रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको घोषणा पत्र लेखेर उपनिर्वाचनमा अर्कै दलको घोषणा पत्र च्यापेर संसद्मा आएको टिप्पणी गरे ।
उनले भने, ‘म सम्झिन्छु एउटा देशको घटना । आम निर्वाचनको बेलामा एउटा दलको घोषणापत्र लेख्ने ५१ जनाको समितिमा ४३ नम्बरमा रहेका एक व्यक्ति त्यही वर्षको अवधिमा अर्कै दलको घोषणा पत्र च्यापेर संसद्मा प्रवेश गर्छन् । प्रवेश गरेका छन् । क्षमा चाहन्छु मैले त्यो देशको नाम पनि बिर्सें । त्यो दलको नाम पनि बिर्से । ती उछलकुदवाला मित्रको नाम पनि बिर्से । तर, यतै कतै नेपालभित्रै कसैको जीवनमा मेल खान गएमा म क्षमा चाँहि माग्न चाहन्न सभामुख महोदय । मैले आज उठाएको यो प्रसँग सुनेर भरे साँझको जलपान केही अड्कियो भने, भरे रातीको निन्द्रामा नैतिकताको प्रश्नले झस्कायो भने । भोलि बिहानै कुनै मिडिया या छिमेकीले जिस्कायो भने त्यसको पनि जिम्मा म लिन सक्दैन सभामुख महोदय ।’
उनले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि प्रश्न उठाए । उनले भने, ‘२०७९ सालको निर्वाचनबाट गठन भएको यो प्रतिनिधिसभा गएको जेठ महिनामा आइपुग्दै गर्दा आफ्नो आधा कार्यकाल पूरा गरिसकेको छ । यो बेलामा समीक्षा जरुरी छ । निर्धारित दायित्वको आधा बाटो हामी कुशलतापूर्वक हिँड्न सकेका छौं की छैनौं भनेर ।’
महामन्त्री शर्माले संसदलाई केवल कानुन र बजेट निर्माण गर्ने थलो मात्र नभई आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलोको रूपमा समेत चित्रण गरे। उनले संसदको कार्यशैली र व्यवहारले जनतामा आशा र भरोसा जगाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘संसद सरकार र कानुन बनाउने र बजेट बनाउने थलो मात्रै होइन आफ्नो कार्यशैली र व्यवहारबाट आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलो हो । त्यो अभिभारा एकको मात्र होइन, हामी सबैको हो । सरकारको हो, प्रतिपक्षको हो, ठूला साना सबैको हो । ’