समाजमा नकारात्मक असर पर्ने गरी बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक संसदमा पेस हुँदैनः कानुनमन्त्री चौरसिया

काठमाडौं । सरकारले समाजमा नकारात्मक असर पर्ने गरी बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक संसदमा पेस नहुने बताएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पर्ने बहुविवाहसम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भएपछि मन्त्री चौरसियाले जवाफ दिँदै त्यस्तो बताएका हुन् ।

उनले भने, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न व्याख्या गर्दा आममानिसको बुझाइमा अन्योलता र आक्रोश सिर्जना भएको बताए ।

मन्त्री चौरसियाले सामाजिक व्यवस्था नै खलल् गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने बताए । उनले भने, ‘सामाजिक व्यवस्था नै खलल गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *