काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको त्रुटिका सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसाद मनिष झाले सभापति खतिवडातर्फ नैतिकताको प्रश्न सोझिएको बताएका हुन् । उनले भने,‘कुलिङ पिरियडमाथि प्रश्न उठेको छ, नैतिक प्रश्न उठेको छ । नाम लेखिएको छैन भनेर सभापति उम्किन पाइछ ? प्रधानमन्त्री भनेपछि नाम चाहिन्छ र ? पदको नाम लेखिएको छ । हामीलाई नैतिकताको पाठ सिकाउनेले नैतिकता देखाउनु पर्दैन ?’
कुलिङ पिरियडमा भएको त्रुटि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कुलिङ पिरियडसम्बन्धी त्रुटिमा सभापतिले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो ।
तर खतिवडाले भने आफ्नो नाम किटान नभएको भन्दै राजीनामा नदिने बताउँदै आएका छन् । छानबिन समितिको प्रतिवेदन मंगलबार सदनमा पेस भएको थियो ।