काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटमा आज नेपाल र भुटान भिड्दैछन् । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:४५ बजे शुरू हुनेछ । खेलको प्रत्यक्ष प्रशारण भुटानको आधिकारिक युट्युब च्यानलबाट हुनेछ ।
नेपाल आज सुखद शुरुवातको खोजीमा रहेको छ । बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानमाथि सहज जित निकालेको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक भुटानसँगै नेपाल, साउदी अरेबिया र उत्तर कोरिया रहेका छन् । नेपालले दोस्रो खेल ८ अगस्टमा साउदी अरेबिया र तेस्रो खेल १० अगस्टमा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।
छनोटबाट आठ समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछन् भने हरेक समूहको दोस्रो स्थानमा रहने शीर्ष तीन देशपनि एसिया कपमा छनोट हुनेछन् । १२ देशको सहभागिता रहने एएफसी यु-२० महिला एसियन कप थाइल्याण्डमा हुनेछ ।
टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले छनोटको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । साफ च्याम्पियनसिप खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरिएको छ । डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङताङले टोलीमा मौका पाएकी छिन् ।
नेपाली टोली
गोलकिपर:- लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर:- सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पाण्ढक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर:- कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार
फरवार्ड:- कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, बर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समीक्षा मगर