ब्रासिलिया । अमेरिकाले केही ब्राजिलियन निर्यात वस्तुहरूमा नयाँ भन्सार शुल्क घोषणा गरेपछि ब्राजिल सरकारले यसबारे गहिरो चासो व्यक्त गरेको छ र विश्व व्यापार संगठन (डब्लुटिओ) मार्फत समाधान खोज्ने प्रक्रिया सुरु गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कफी, मासु र पेट्रोरसायन पदार्थहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय घोषणा गरेका छन्, जुन आगामी बुधबारदेखि लागू हुनेछ ।
यस निर्णयले करिब ३५ प्रतिशत ब्राजिलको अमेरिकी निर्यात प्रभावित हुने अनुमान गरिएको छ, यद्यपि केही महत्वपूर्ण वस्तुहरूजस्तै ऊर्जा सामग्री र निश्चित खनिजहरू भने यसबाट अलग राखिएका छन् ।
यस सन्दर्भमा ब्राजिलको वैदेशिक व्यापार चेम्बरले डब्लुएचओसँग प्रारम्भिक परामर्श प्रक्रिया थालनी गर्न प्रस्ताव पारित गरिसकेको छ । प्रस्ताव राष्ट्रपतिज्यू लुइज इनासिओ लुला दा सिल्भालाई पेश गरिएको छ, जसले उजुरी कहिले र कसरी अघि बढाउने भन्ने अन्तिम निर्णय लिनेछन् ।
उप–राष्ट्रपति जेराल्डो आल्कमिनले सरकार उक्त भन्सार शुल्कका सम्भावित असरहरू न्यूनीकरण गर्न प्रयासरत रहेको जानकारी दिए । उनले कृषि क्षेत्रका सरोकारवालासँग छलफल गरी आवश्यक रणनीति तय गर्ने कार्य अघि बढिरहेको बताए ।
अर्थमन्त्री फर्नान्डो हदादले ब्राजिल सँधै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै भने, “हामी बराबरीको आधारमा सहकार्य गर्न इच्छुक छौँ । ब्राजिल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, त्यसअनुसार व्यवहार अपेक्षित छ ।”
उनले उक्त शुल्क वृद्धिलाई ’अत्यधिक’ र ‘अव्यावहारिक’ भन्दै, सकारात्मक सहकार्यका सम्भावना अझै खुला रहेको संकेत गरे । विशेष गरी दुर्लभ खनिज, प्रविधि र डाटा पूर्वाधार जस्ता क्षेत्रमा आपसी सहकार्यको अवसर पहिचान गर्न सकिने उनको भनाइ थियो ।
सरकारले आगामी दिनमा प्रभावित उद्योगहरूलाई राहत दिने उद्देश्यले विशेष सहयोग प्याकेज सार्वजनिक गर्ने तयारी गरिरहेको पनि जानकारी दिइएको छ । यसमा कर्जा सहायता लगायतका उपायहरू समावेश हुनेछन् । यद्यपि, यसले बजेटमा केही असर पार्न सक्ने भए पनि त्यसलाई विद्यमान वित्तीय अनुशासनभित्र व्यवस्थापन गरिने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।