भारतीय नागरिक बनाएर हङकङमा नेपाली महिलाको तस्करी, सात जना भारतमा पक्राउ

काठमाडौं । नेपालली महिलालाई भारत हुँदै हङकङ तस्करी गर्ने गरेको तथ्य खुलेको छ । गत शुक्रबार काँकडभिट्टा नाका हुँदै भारत प्रवेश गरेका सात नेपाली महिला र दुई पुरुष भारतको सीमा बल (एसएसबी) ले पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

सोधपुछका क्रममा उनीहरूले वैदेशिक रोजगारीको लागि हङकङ जान लागिएको बताएका भारतीय प्रहरीले जानकारी दिएको छ । एसएसबीले उनीहरूलाई खोरीबारी प्रहरी चौकीमा बुझाएपछि ती महिलाहरूको साथमा नेपाली कागजातसँगै भारतीय आधार कार्ड र राहदानी समेत भेटिएको थियो ।

उनीहरुसँग भारतीय राहदानी र आधार कार्ड भेटिएपछि प्रहरीले उनीहरुविरुद्ध मुद्दा चलाउने भएको छ । प्रहरीले यसमा संलग्न रहेको आरोपमा संखुवासभाका जापान गुरुङ र दार्जिलिङ तोरीबारीका ४१ वर्षीय दीपेश गुरुङलाई पक्राउ गरेको छ ।

भारतीय प्रहरीले सातै महिला संखुवासभाका भएको पुष्टि गरेको छ । नेपालीलाई हङकङले २००५ देखि घरेलु कामदार वा रोजगार भिसा दिन रोक लगाएपछि भारतीय कागजात बनाएर नेपाली महिलाको तस्करी हुन थालेको हो ।

मानव तस्करीको गिरोहले भारतीय राहदानी, आधार कार्ड, मतदाता परिचयपत्र तयार गरेबापत प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *