कारागारबाट रिहा भएपछि प्रसाईंले भने-देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं उच्च अदालतको आदेशपछि रिहा भएका छन् । कारागारबाट रिहा भएपछि प्रसाईंले अदालतप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

रिहा भएपछि सामाजिक संजालमार्फत प्रसाईंले भनेका छन्, ‘जिल्ला अदालतको आदेशअनुसार म खुसी साथ कारागार गएको थिएँ, उच्च अदालतको आदेशले आज मलाई घर फर्किने बाटो देखायो। तर मेरो यात्राको अन्त्य होइन, देश निर्माणका योजनासहित म पुनः अघि बढ्दैछु।’

उनले अदालतप्रति विश्वास व्यक्त गर्दै न्याय प्रणाली अझै बाँचेको महसुस भएको उल्लेख गरेका छन् । तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुरमा अदालतले उनीसँग २५ लाख धरौटी मागेको थियो । धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

यस्तो छ प्रसाईंको भनाई

सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा विदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु । जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनि म अदालतको आदेशलाई शिरोपर गर्दै खुसी साथ नै कारागार गएको थिएँ, आज उच्च अदालतको आदेशबाट रिहाइ हुँदा पनि देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु । न्याय मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमानसहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घर भन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।

म मेरो लागि हैन देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन । फेरि पनि हृदयको अन्तस्करणबाट सबैमा धेरै आभार । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *