काठमाडौं । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रविन्द्र ढाँट स्वदेश फर्किएका छन् ।
उनी सोमबार साँझ स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रविन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।
स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हटेर गएको बताए । उनले देशवासीहरुको लागि अझै यो भन्दा धेरै राम्रो खेल्नुपर्ने बताए ।
ढाँट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए ।आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।