दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

त्यस्तै अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’

बैंकिङ कसुरमा उनलाई १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *