बैठकका निर्णयमा हस्ताक्षर गर्न जनार्दन सहमत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीभित्र देखिएको गुटउपगुट र स्वार्थ समूह विघटन गर्ने सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार सम्पन्न भएको स्थायी समिति बैठकले पार्टी निर्णयविपरीतका गतिविधि गर्ने नेता कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘पार्टीभित्रको गुट उपगुटको बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ’, प्रवक्ता सापकोटाले भने, ‘बैठकले पार्टीको शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको छ ।’

पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । पार्टीका उपमहासचिव जनार्दन शर्माले स्थायी समितिको निर्णयलाई महसुस गरेको र बैठकको निर्णयमा हस्ताक्षर गर्न सहमत भएको उनले जानकारी दिए ।

बैठकले दशैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान गर्ने, पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरू गरेर ताप्लेजुङसम्म पुर्याउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *