नवलपरासी । भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रो पटक म्याद थपिएको छ ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारमा पाँच सय मिटर सडक निर्माण गर्न २०८० वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवल र गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीबीच सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत काम भएको डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रले बताए ।
स्थानीयको भौतिक संरचना, बिजुलीको खम्बा सार्नुपर्नेलगायत कामका कारण ठेकेदारले समयमै काम सम्पन्न गर्न नसकेको प्रमुख मिश्रको भनाइ छ ।
महेशपुर सडकको काम सम्पन्न गर्न दोस्रो पटक (अन्तिम) म्याद थप गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुशिल पौडेलले बताए । थपिएको म्यादसम्म सडकको काम सम्पन्न नगरेपछि ठेकेदारलाई कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ ।
बिजुलीको खम्बालगायत संरचना सार्नुपर्ने भएकाले समयमा काम समपन्न गर्न नसकिएको गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीका सञ्चालक मणिराम लामाले बताए । आगामी कात्तिक महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको उनले बताए ।
निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि यति बेला वर्षा भएपछि भारतबाट आउने मालवाहक सवारी तथा यात्रुलाई हिलोमा आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताए ।
उनका अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरदेखि भक्सीपुरसम्म ढल निकाससहित सडक निर्माणका लागि गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको हो ।