कञ्चनपुर । नेपाली कांग्रेसका नेता एनपी साउदले गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिने बताएका छन् ।
शनिबार शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा कल्की फाउण्डेसनले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले शिक्षामा गरेको लगानी व्यापार नभएर वर्षौँपछि प्रतिफल दिने दिगो योजनाका रूपमा रहेको बताए । सामुदायिक विद्यालयमा पूर्वाधार विकाससँगै पढाइको गुणस्तर वृद्धिका लागि आधारभूत तहबाट सुधार गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।
‘अहिलेका अभिभावकले आफ्ना सन्तानलाई अङ्ग्रेजी भाषामा दखल बनाउने चाहना राख्नुहुन्छ । अभिभावकको मनोभावलाई बुझेर आधारभूत तहदेखि अङ्ग्रेजीमा पढाउने व्यवस्था गरिनु आवश्यक छ’, नेता साउदले भने । अङ्ग्रेजीमा पढाइ गर्ने सामुदायिक विद्यालयलाई अरु विद्यालयको तुलनामा प्रोत्सहित गर्न बढी अनुदानको व्यवस्था गरिनुपर्ने उनले बताए ।
‘सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि निजीमा बालबालिका पढाउने क्रम रोकिन्छ, सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्छ, त्यस कार्यले शिक्षामा गरेको लगानी खेर जादैन’, उनले भने । नयाँ पिँढीका लागि शिक्षामा गरिएको लगानीले आठ दशकसम्म प्रतिफल प्राप्त भइरहने उनले उल्लेख गरे ।
‘नयाँ सोचका साथ विद्यालय व्यवस्थापनको कार्यलाई अगाडि बढाइनुपर्छ’, नेता साउदले भने, ‘माध्यमिक तहमा पढाइ हुने विद्यालयमा कम्तीमा व्यवस्थापन समितिको अध्यक्षको योग्यता स्नातकतहसम्म निर्धारण गरी प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।’
सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने दायित्व सबैको भएकाले व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त पारेमा सुधारका सङ्केत देखिने उनले विश्वास व्यक्त गरे ।