काठमाडौँ । नेपाली परम्पराअनुसार पानसमा बत्ती बालेर चीनमा नेपाली चीन दौत्य सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइएको छ ।
बुधबार साँझ बेइजिङमा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष (उपसभामुख) स्याउ च्ये र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले पानस बालेर वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघका उपाध्यक्ष लु सियाङ ताेङले भिन्न भूगाेल, जनसंख्या र राजनीतिक प्रणाली रहेका दुई देशबीच लामो समयदेखिको मित्रवत सम्बन्ध रहेकाे बताए । लुले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनको दृढ समर्थन रहने उल्लेख गरे ।
उपाध्यक्ष लुले परम्परागत चीन-नेपाल मित्रतालाई अगाडि बढाउन, मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई गहिरो बनाउन, जनता बीचको पारस्परिक समझदारी र आत्मीयता बढाउन तथा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन नजिकबाटै काम गर्न चीन तयार रहेकाे जनाए । उनले भने, जसले अन्ततः चीन-नेपाल रणनीतिक सहकारी साझेदारीको ठूलो प्रगतिमा योगदान पुर्याउँछ ।
राजदूत ओलीले शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक विश्वास र आपसी समझदारीका पाँच सिद्धान्तहरूद्वारा निर्देशित निरन्तर बढ्दो घनिष्ठ र सौहार्दपूर्ण नेपाल चीन सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे ।
प्राचीन कालमा पूज्य भिक्षु, कलाकार र विद्वानहरूको ऐतिहासिक आदानप्रदानलाई प्रकाश पार्दै उनले वर्षौंदेखि यो सम्बन्ध राजनीतिक, आर्थिक, विकास सहयोग, व्यापार, लगानी, शिक्षा, पर्यटन, कृषि, जलवायु परिवर्तन र जनता-जनता स्तरमा विस्तार भएको बताए ।
कार्यक्रममा नेपाली गीत संगीत पनि प्रस्तुत गरिएको थियो । दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापनाको सत्तरीऔँ वार्षिकोत्सवका बारेमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीद्वारा लेखित गीत प्रस्तुत गरिएको थियो ।
नेपाली भाषाकी चिनियाँ विज्ञ प्राध्यापक सिङ युन अर्थात् इन्दिराले चिनियाँ भाषामा अनुवाद गरेको सो गीत नेपाली युवा सन्देश देउजाले गाएका थिए ।
नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ का दिन कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियाे ।