म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो ।
गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१/८२ मा एक/एकवटा सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन छनोट गरेको थियो ।
म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्वर– पिप्ले– भगवती हुँदै बेग र भगवती–सिजलगाउँ– साझपानी –बयारीगाउँ –बेग सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो ।
गत असार ९ गते पूर्वाधार विकास कार्यालय र हिमालयन कन्सट्रक्सनबीच रु दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि १८ महिना छ । कम्पनीका सञ्चालक निरज भण्डारीले पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री जुटाएर निर्धारित समय अगावै सम्पन्न गरिने बताए ।
भगवतीको जैसीखोरदेखि सिजलगाउँ हुँदै बेगतर्फ एक किलोमिटर ४०० मिटर ढलान र ‘प्रिमिक्स’ कालोपत्र हुुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए ।
यसअघि गलेश्वर–पिप्ले–भगवती–बेग सडक अन्तर्गत पिप्ले–भगवती खण्डमा करिब छ किलोमिटर सडक कालोपत्र भएको थियो । १५ वर्षअघि खुलेको यो सडक चारदेखि पाँच मिटर फराकिलो छ ।
योजनामार्फत कम्तीमा सात मिटर फराकिलो, पर्खाल र नाली निर्माण गरिने भएको छ । यो सडकबाट रघुगङ्गा गाउँपालिका–१ बेग र २ नम्बर वडा भगवतीका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।