बागमती । नेपाली कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र अर्का प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो ।
यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । मंगलबार अविश्वसा प्रस्ताव संसदीय दलको बहुमतबाट पारित भएको थियो । लामाले दलको नेताको हैसियत गुमाएपछि बुधबार दलको नेता चयनका लागि निर्वाचन भएको हो ।
बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।