काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई सरकारले संरक्षण नगर्ने बताएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धि अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए ।
प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताए । उनले भने, ‘कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न । कारबाही गरेपछि भ्रष्टाचार भएको छर्लंगै देखियो त । भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्न ।’
प्रधानमन्त्रीले नेपाल २०८३ मंसिरसम्म अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हने बताए । उनले अहिलेसम्म तीन पटक मूल्याङ्कन भएको भन्दै यी नै मूल्याङ्कनको आधारमा आगामी २०८३ साल मङ्सिरमा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने बताए । अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुनु स्थानान्तरण नभई रूपान्तरण भएको उनले बताए ।
प्रधानमन्त्रीले मुलुक सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालना नगरे ‘ग्रे लिस्ट’मा पर्नुलाई सामान्यरुपमा लिनुपर्ने बताए । उनले अर्को वर्ष नेपाल ‘ग्रीन लिस्टमा पर्ने’ दाबी समेत गरे ।
उनले भने, ‘अरूका मूल्यांकनमा कहिलेकाहीँ भ्रमपूर्ण कुरा परेका हुन सक्छन् । ग्रे लिस्ट–केही होइन । हेर्दै जानु होला, अर्को वर्ष ग्रे, स्रे खतम हुन्छ। ग्रीन आउँछ, ग्रीन । आफूलाई नेगेटिभ चस्माबाट नहेरौँ।’