पोखरा । सिन्धुलीको गोलन्जोरस्थ्ति थातथलो छाडेर कास्कीको पोखरा आएका उर्मिला हायुको परिवारलाई गाउँ फर्किन वडाध्यक्ष रविन श्रेष्ठले आग्रह गरेका छन् । गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्रेष्ठसहितको टोलीले बुधबार पोखरा आएर उनीहरुलाई गाउँ फर्किन आग्रह गरेको हो ।
वडाध्यक्ष श्रेष्ठले हायू परिवारलाई घर भएको जमिन खरिद गरिदिने, अस्थायी बसोबासका लागि वडामै छुट्टै स्थानमा घर निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थालाई प्राथमिकतामा राखिने बताएका छन् । तर उनीहरु फर्किन मानेका छ्रैनन् । उनीहरुले जति दुःख गरे पनि खानका लागि उब्जनीले तीन महिना पनि नपुगेपछि हातमुख जोड्न सहर पस्नु परेको बताएका छन् ।
केही दिनअघि घरमा चौपाया छाडेर १६ जनाको हायू परिवार सम्पर्कविहीन भएपछि खोजी भएको थियो । त्यसक्रममा उनीहरु पोखराको गगन गौंडामा फेला परेका थिए ।