सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाईका लागि पटक-पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन् ।
गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने र सैनिक शासन लागू गर्ने प्रयास गरेका थिए । मामर्शल कानून जारी गरिएको घोषणा गर्दै उहाँले संसद्लाई सेना लगाएर नियन्त्रण गर्ने प्रयास गरेका थिए ।
हप्तौँसम्म गिरफ्तारीको विरोध गरेपछि जनवरीमा हिरासतमा लिइएका उहाँ दक्षिण कोरियाली इतिहासमा पक्राउ पर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका थिए । उनले मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने भन्दै राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो ।
उनलाई मार्चमा उनको विद्रोहको मुद्दा चलिरहेको समय प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर जुलाईको सुरुमा फेरि हिरासतमा लिई सोधपुछ गरिएको थियो ।
संसदीय चुनावमा धाँधली भएको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि पटक–पटक बोलाए पनि उनी उपस्थित हुन अस्वीकार गरेका थिए ।
‘विशेष अभियोजकको कार्यालयले पूर्व राष्ट्रपति युनलाई बिहान १० बजे उपस्थित हुन दोस्रो आदेश जारी गरेको थियो,’ अभियोजक ओह जियोङ हीले बुधबार पत्रकारहरूसँग बताए ।
उनले उपस्थित हुनका लागि दोस्रो पटकको आदेश पनि उल्लङ्घन गरी अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए । उनले कुनै स्पष्टीकरण पनि दिएका थिएनन् ।
फलस्वरूप, विशेष अदालतले उहाँविरूद्ध औपचारिक रूपमा बुधबार दिउसो सोधपुछका लागि हिरासतमा लिन पक्राउपूर्जी जारी गरेको हो ।
युनलाई यसपहिले नै हिरासतमा राखिएको भए पनि पक्राउपूर्जी जारी भएपछि अभियोजकहरूलाई उहाँलाई जबर्जस्ती सोधपुछ गर्न अनुमति दिनेछ । युन र उनकी पत्नी पूर्व प्रथम महिला किम किन हीका लागि पनि कानुनी समस्या बढ्दै गएको छ।
अभियोजकहरूले युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले हिराको हार र महँगो ह्यान्डब्याग प्राप्त गरी किमलाई दिएको आरोपको पनि अनुसन्धान गरिरहेका छन् ।