एमाले महासचिवको प्रश्नः ७० वर्ष उमेर हटाउँदा जबजको मूल मान्यतामा कहाँनेर पर्छ असर ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) को १२औँ प्रतिनिधि परिषद् बैठकलाई बुधबार सम्बोधन गर्दै महासचिव पोखरेलले आर्थिक र सामाजिक देखिएका समस्यालाई योजनाबद्ध ढङ्गले समाधान गर्नका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने बताएका हुन् ।

महासचिव पोखरेलले पछिल्लो समयमा तीव्रताका साथ सामाजिक विकास भए पनि त्यही गतिमा आर्थिक विकास हुन नसकेको बताए । उनले कमजोर राज्यले श्रमजीवी वर्गलाई अधिकार सम्पन्न गराउन नसक्ने भन्दै मुलुकलाई बलियो बनाउन श्रमजीवी बलियो बन्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले पार्टी नेतृत्व बलियो र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै पार्टीमा लागू गरिएको ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यताको विशेषताविपरीत नभएको बताए ।

‘७० वर्ष उमेर हटाउँदा जनताको बहुदलीय जनवाद (जबज)को मूल मान्यतामा कहाँनेर असर पर्दछ ?’, उनले प्रश्न गरे, ‘जबज नपढिकन यसको प्रवक्ता बन्ने खोज्ने प्रवृत्ति छ । पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यताबाट पार्टी नेतृत्व तलमाथि भएको छैन ।’

महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित रहेको भन्दै जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुने उल्लेख गरे ।

उनले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पना बाहिर रहेको बताए । उनले एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सम्मानित भएर बस्नुपर्छ भनेर दृष्टिकोण सार्वजनिक गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *