हाम्रो त नाममात्रको ‘डेमोक्रेसी’, हेर्नुस् त दक्षिण कोरिया !

-नारायण गाउँले ।

‘डेमोक्रेसी’सँग सुशासन मिसियो भने के हुन्छ भन्ने बुझ्न दक्षिण कोरियालाई हेर्न सकिन्छ । दोस्रो विश्वयुद्धसम्म सिङ्गो कोरिया जापानको नियन्त्रणमा थियो । जापान पराजित भएपछि विश्वयुद्ध जितेका अमेरिका र सोभियत सङ्घले कोरियालाई उत्तर र दक्षिणमा बाँडेर आफ्नो प्रभुत्व कायम गरे । तीन वर्षसम्म दुई कोरियाबीच भयङ्कर युद्ध भयो । तीस लाखभन्दा बढ़ी मान्छेको मृत्यु भयो । ठूला शहर र औद्योगिक गतिविधि जति ध्वस्त भए । त्यो युद्ध औपचारिक रूपमा अझै रोकिएको छैन । एउटै (बौद्ध) धर्म, एउटै भाषा, एउटै जाति र एउटै वर्णका मान्छे दुई फरक देश र एकअर्काका शत्रु भए । उत्तर कोरिया पारिवारिक कम्युनिस्ट शासनमा हिँड्यो । दक्षिणले लोकतन्त्र समात्यो ।

दुबै ध्वस्त त थिए तर उत्तर कोरियासँग विशाल अर्थतन्त्र र साधनस्रोत बोकेका रसिया र चीनसँग ‘ल्याण्ड–बोर्डर’ थियो । व्यापारको सहजता र सम्भावना थियो । सम्बन्ध पनि राम्रो थियो । दक्षिण कोरियासँग एकमात्र ल्याण्ड बोर्डर उत्तर कोरियासँगै थियो, जुन प्रयोगयोग्य थिएन । दुबैसँग समुद्रको पहुँच भने थियो । जमिन थोरै भएर पनि धेरै जनसङ्ख्या पाल्न पर्ने अर्को समस्या दक्षिणसँग थियो । नेपालभन्दा धेरै सानो भएर पनि नेपालभन्दा झन्डै डबल जनसङ्ख्या हुनु चुनौतीपूर्ण नै थियो । तर, यही चुनौतीभित्र अवसर पनि थियो ।

आज दक्षिण कोरियाको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली पासपोर्ट बनेको छ । दक्षिण कोरियन पासपोर्ट लिएर तपाईं विश्वभर बिनाभिसा या ‘भिसा अन–अराइभल’ छिर्न सक्नुहुन्छ भने सँगैको उत्तर कोरियामा पासपोर्ट नै बनाउन सक्नुहुन्न ।
साधनस्रोत, ज्ञान, समय र मिहिनेत कुन दिशातिर खर्च गर्ने भन्ने आआफ्नो रोजाइ पनि होला । उत्तरसँग आज आणविक मिसाइल छ, जुन दक्षिणले बनाउन सकेको छैन । जनसङ्ख्या कम भए पनि उत्तरसँग झन्डै दोब्बर बढी सङ्ख्यामा सेना छन् ।
तर आज दक्षिण कोरिया विश्वका हरेक नागरिकको घर, अफिस र पकेटसम्म पुगेको छ । सामसुंग फोन बोक्नुभएको छैन भने पनि उसले बनाएका चिप्स र डिस्प्ले भएको आइफोन बोक्नुभएकै होला । नभए एलजीको टेलिभिजन होला । किया या ह्युन्डाइको गाड़ी चढ्नुभएको पनि हुन सक्छ । हस्पिटलदेखि एअरपोर्टसम्म, घरदेखि मोबाइलसम्म कोरियन प्रविधिले विश्व मानव सभ्यतालाई धेरै थोक दिएको छ । नेपालमात्र होइन, कोरियन कम्पनीले अमेरिका, चीन र बेलायत जस्ता देशलाई रोजगारी र अर्थतन्त्रमा टेवा दिएको छ । अर्थतन्त्र विश्वकै सम्पन्न र बलियोमध्ये पर्छ र प्रतिव्यक्ति आय त छिमेकसँग तुलना नै नहुने गरी बढेको छ ।

अझ रोचक त के भने उत्तरलाई जनवादी भनिन्छ । पूँजीवादी भनिने दक्षिण कोरियाले जिडीपीको झन्डै १६% रकम सामाजिक सुरक्षामा खर्च गर्छ । १.८ ट्रिलियन डलरको विशाल इकोनोमी भएको त्यति सानो देशले १५.५% खर्च समाजिक सुरक्षामा गर्न सक्नु संसारकै लागि उदाहरणीय हो । जनवादको यसभन्दा ठूलो उदाहरण अन्त कता भेट्नु ! आज जिडीपीको ५% जति त उसले वैज्ञानिक अनुसन्धानमा खर्च गर्छ । हाम्रा विद्यार्थी स्कलरशिप लिएर पढ्न जान्छन् । त्यहाँको रिसर्चले विश्वलाई फाइदा पुग्छ । अरू देश मिलिटरीमा खर्च गर्छन् ।

सँगै सुरु गरेका दुई कोरियामध्ये एउटा आज विश्वको १३औं ठूलो अर्थतन्त्र हो भने दोस्रो १३५औं । प्रतिव्यक्ति आयदेखि वैयक्तिक स्वतन्त्रतासम्म केही पनि तुलना गर्न मिल्ने खालको छैन । आज एउटा देश नहुने हो भने विश्वले इन्टरनेट चलाउन सक्दैन भने एउटा देशका नागरिकले इन्टरनेट चलाउन शासकको अनुमति चाहिन्छ ।व्यवस्थाले मात्रै कुनै देश बन्दैन । तर देश बन्नमा शासन र व्यवस्थाको कति ठूलो भूमिका हुन्छ भन्ने उदाहरण कोरिया पनि एक हो !

धुलोबाट उठेको कोरियाको पासपोर्ट आज अमेरिका र बेलायतभन्दा शक्तिशाली छ । त्यसका शहर न्यूयोर्क र लण्डनभन्दा प्रविधिमैत्री छन् । जीवन लास भेगासको भन्दा रमझम र रङ्गीन छ । लण्डनको हिथ्रो विमानस्थलभन्दा सियोलको एयरपोर्ट भव्य र सुविधासम्पन्न छ । आम नागरिकलाई राज्यले दिएको सुविधा र सेवा अरूले थूक निल्ने खालको छ ! आफ्नो गरिबी निर्मूल गरेर विश्वभरको गरिबी निवारणमा आज कोरियन कम्पनी र कर्पोरेशनले अर्बौं रुपियाँ दान गर्दै छन् । एउटामा नामको र अर्कोमा कामको साम्यवाद छ । कोरिया आज देशमात्रै नभएर ब्राण्ड जस्तै छ ।यत्तिकै भएको त होइन होला । हाम्रो डेमोक्रेसी पनि नाममात्रैको भएको त होइन ? नेता उही भए पनि ३० वर्षको त यो पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *