काठमाडौँ । छ्योखोर दुछेन (धर्मचक्र प्रवर्तन महोत्सव)को अवसरमा पोखरामा मोन्लाम कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बौद्ध महासंघको आयोजनामा छ्योखोर दुछेनको अवसर पारेर पोखरा महानगरपालिका–१८, भकुण्डेस्थित पाल तथा नाम्ग्याल गोन्पामा १४औँ पूजा प्रणिधान (मोन्लम) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हाे ।
विश्व शान्तिको कामनासहित आयोजित दुईदिने कार्यक्रममा परम श्रद्धेय ४२औँ साक्य गद्दीधारी, परम श्रद्धेय रत्नवज्र रिन्पोछेबाट उपस्थित श्रद्धालु भक्तजनहरूलाई शरणगमन शील तथा दीर्घायु अभिषेक प्रदान गरेका थिए ।
पाठपूजा कार्यक्रममा पोखराका विभिन्न गोन्पा लामा धर्मगुरुहरूको व्यापक उपस्थिति रहेको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको पाठपूजामा महायान बौद्ध परम्पनाअनुसार शरणगमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिएको थियो ।
कार्यक्रमका अवसरमा भगवान बुद्धकाे पवित्र अस्तु धातु (रिङ्सेल) सर्वसाधारणका लागि दर्शनार्थ राखिएको थियो । हजारौँ श्रद्धालु भक्तजनहरूले पवित्र अस्तुधातु दर्शन गरेको नेपाल बौद्ध महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा)ले मोन्लम कार्यक्रमले बौद्ध धर्मको शिक्षालाई व्यापक बनाउन, शान्ति, करुणा र सहिष्णुताको प्रवर्द्धन गर्न तथा जनमानसमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरेका छन् ।