गाजा सिटी । मध्य नुसिरात जिल्लामा इजरायली हवाई आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ।
नागरिक रक्षाका प्रवक्ता महमुद बासलले आक्रमणहरू रातभर र बिहानसम्म भएको र नुसिरात शरणार्थी शिविरमा ‘धेरै नागरिकको घर’ लाई लक्षित गरिएको बताए।
स्थानीय अल-अवदा अस्पतालमा ‘१४ महिला र १२ बालबालिका सहित ३० जना शहीदको शव’ प्राप्त भएको बताइएको छ।
इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन। इजरायली सेनाले करिब २२ महिनादेखि गाजा पट्टीमा लडाकू समूह हमास विरुद्ध कारबाही गरिरहेको छ।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले गरेको रक्तपातपूर्ण आक्रमणबाट सुरु भएको इजरायली आक्रमणबाट गाजामा ५९ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सप्ताहन्तमा अन्तर्राष्ट्रिय रायको दबाबमा यस क्षेत्रको अनिकालको समाधान गर्न इजरायलले सहायता वितरण गर्न अनुमति दिन आइतबारदेखि सुरु भएको ‘रणनीतिक विराम’ को एक शृङ्खला घोषणा गरेको थियो।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयअनुसार सैन्य कारबाहीमा विरामले हरेक दिन बिहान १० बजे (०७०० जिएमटी) देखि साँझ ८ बजेसम्म ‘ठूलो जनसङ्ख्या भएका क्षेत्रहरू’ समेट्नेछ।
निर्धारित सहायताका सवारी मार्गहरू बिहान ६ देखि राति ११ बजे सम्म सुरक्षित रहने नेतान्याहुको कार्यालयले जनाएको छ । तर, रातभर आक्रमण जारी रहने छ।
प्यालेस्टिनी क्षेत्रहरूमा नागरिक मामिलाका प्रभारी इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले सोमबार संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूले दुई सय ट्रकभन्दा बढी सहायता वितरण गरेको बताएको छ।
अन्य दुई सय ६० ट्रकलाई सङ्कलन विन्दुहरूमा सहायता जम्मा गर्न गाजामा प्रवेश गर्न अनुमति दिइएको थियो। संयुक्त राष्ट्रसङ्घका चार ट्याङ्कर जोर्डन र एमिराटी विमानहरूबाट सहायताका २० प्यालेट खसालिएको कोगाटले जनाएको छ।