काठमाडौं । नेकपा (माओवादी केन्द्रका) उपमहासचिव जनार्दन शर्माले पार्टीको विशेष महाधिवेशनको माग गरेका छन् । मंगलबार साँझ समाजिक सञ्जालमार्फत पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएको र त्यसको पछि नलाग्न कार्यकर्तालाई समेत आग्रह गर्दै विशेष महाधिवेशनको माग गरेका हुन् ।
उनले भनेका छन्, ‘विगत दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु । गतवर्ष सबै प्रदेशहरुमा भएको परामर्श बैठक पश्चात केन्द्रीय समितिको बैठकमा भएको बहश र निर्णय अनुसार आषाढ देखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात मंसिरशा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौं । जसले पार्टीको पुनर्गठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।’
यस्ता छन् जनार्दन शर्माका माग
नेकपा(माओवादी केन्द्र) पार्टी बारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु।
१. विगत दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु ।
२. गतवर्ष सबै प्रदेशहरुमा भएको परामर्ष बैठक पश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार आषाढदेखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौैं । जसले पार्टीको पुनर्गठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।
३. पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग ( पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको उर्जालाई २ बुँदे सहमति पश्चात गिरेको पार्टीको शाखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौं ।
४. यतिबेला सिङ्गै देश, जनता र राजनीतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन नै हो ।
अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ।
देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका बिषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ। संविधान संशोधनले, शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरुमा राष्टलाई एकताबद्ध गर्नेछ।
विशेष महाधिवेशनले पार्टी भित्रको बैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ ।