मुगु । गत आर्थिक वर्ष २०८१ /८२ मा जिल्लाबाट चार करोड बराबारको खाद्यबस्तु ( चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ ) अन्य जिल्लामा बिक्री भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार गतआवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्यबस्तु सो रकमबराबार जिल्ला बाहिर बिक्री भएको हो ।
यो कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ । साथै कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ ।
जिल्लाबाट ७४ मेट्रिक टन सिमी बिक्री भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चार लाख ९० हजार ढुवानी अनुदान दिएको थियो ।
त्यसैगरी दुई सय ३० मेट्रिक टन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, काउनो, कोदो, फापर अग्र्यानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ । यी बालीको स्थानीय गाउँघरको मूल्य दुई करोड सात लाख हुन आउँछ ।
निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो । चालु आवमा सिमी दुवानी अनुदानका लागि पाँच लाख र अन्य बाली ढुवानी अनुदानका लागि तीन लाख विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए । चालु आवमा ८० मेट्रिक टन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख मल्लले जानकारी गराए ।
जिल्लाका किसानले परम्परागत अन्नबाली चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ ।
बजारसम्म पुर्याउने यातायातका साधन नपाउदा, बजार थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै आएका छन् । सरकारले बजारीकरणको खोजी र दुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आथिक विकासमा परम्परागत बालीले राम्रो स्थान लिने जनाइएको छ ।