धनुषामा खुकुरी प्रहार गरी एक जनाको हत्या, दुई गम्भीर घाइते

जनकपुरधाम । धनुषामा एक व्यक्तिले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् भने दुई जना गम्भीर घाइते भएका छन् । जनकपुरधाम–४ स्थित सूर्यनन्द चौधरीको घरमा डेरा गरेर बस्दै आएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले गएराति खुकुरी प्रहार गरी १५ वर्षकी अञ्जलीकुमारी यादवको हत्या गरेका हुन् ।

साहले सोही घरमा डेरा गरी बस्ने क्षीरेश्वरनाथ–४ का दिनेश यादवकी श्रीमती ३५ वर्षीया आशा यादवलाई पनि खुकुरी प्रहार गरेका छन् ।

उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । हत्या गरिएकी अञ्जली आशाकी छोरी हुन् । त्यसैगरी उनले सोही कोठामा बस्ने धनुषा मिथिला नगरपालिका–१ ढल्केवरका भोगिन्द्र यादवकी १४ वर्षीया छोरी राधा यादवमाथि पनि खुकुरी प्रहार गरेका छन् ।

खुकुरी प्रहारबाट राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । साह श्रीमती हत्याको अभियोगमा ५ वर्ष कारागार बसेका व्यक्ति हुन् । घाइतेहरुको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । घटनापछि साह फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *