सिरहा र झापामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

सिरहा । प्रहरीले सिरहा र झापामा लागूऔषध कारोबारी पक्राउ गर्न गोली चलाएको छ । शनिबार सिरहाको नवराजपुर गाउँपालिका–४ स्थित कुसन्डी जाने बाटोबाट एक भारतीय नागरिकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला वीरपुर ग्राम पञ्चायत ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट ५० ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

शनिबार अपरान्ह ४ बजेतिर मोटरसाइकलमा रहेका उनलाई प्रहरीले रोक्न खोज्दा उनी भाग्न खोजेका थिए । त्यसक्रममा एक राउन्ड गोली फायर गरेर उनलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

त्यसैगरी प्रहरीले झापामा पनि लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मदर इस्लामलाई फेला पारेको थियो ।

त्यसक्रममा प्रहरीलाई आक्रमण गरेर भाग्न खोजने क्रममा उनलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार भएको कोइरालाले बताए । प्रहरीले उनको साथबाट खैरो हेरोइन अन्दाजी १२० ग्राम फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *