-कर्णबहादुर थापा ।
कसले कसलाई छोड्यो ? कसले के छोड्यो ? मूल्यांकन आफैं गर्नु होला । म त यही मान्यताको पक्षमा उभिरहेको छु । जो कमरेड केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रिकरण गर्न भनी उठाउनु भएको थियो र पार्टीले स्वीकार गरी दुई कार्यकाल र ७० वर्षको उमेर हद लगाएको हो । महाधिवेशनसम्मै यी मुद्दामा स्वस्थ्य छलफल गरौं ।
कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याको रुपमा देखापरेको छ । पार्टीमा स्वेच्छिक अवकासको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आवश्यक प्रबन्ध नहुनु आदि कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोवैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौं वाञ्छित अवाञ्छित प्रयत्नहरु गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि वैध अबैध उपायहरु अबलम्बन गर्ने स्थिति देखापरेको छ । यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्याएको छैन, नेतृत्व परिवर्तनको लागि अस्वस्थ्य होडवाजी, गुटबन्दी र षडयन्त्रमूलक कृयाकलापलाई पनि जन्माउने काम गरेको छ । यसले आजको तीब्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानको लागि ठोस र मुर्त प्रबन्धको माग गरिरहेको छ ।
पार्टी जीवनको लोकतान्त्रिकरण कुनै पदको भागवण्डा या अधिवेशनको बेला हुने निर्वाचनको प्रश्नमात्रै होइन । यसको सार हो, पार्टीमा आमसदस्यहरुको सार्वभौमिकताको स्थापना, नीति निर्माण र निर्णय प्रकृयामा उनीहरुको स्वामित्वको प्रत्याभूति, कार्यकर्ताको स्वेच्छिक चयनको आधारमा नेतृत्व निर्माण र उपयुक्त विधिद्वारा जिम्मेवारी वितरणसहित सामूहिक नेतृत्वको स्थापना, पार्टीभित्र बैचारिक राजनीतिक बहसको जीवन्त उपस्थिति, विचारकै आधारमा विभेद नहुने कुराको ग्यारेन्टी, माथिल्लो कमिटी र नेतृत्वको कामको निश्चित विधिद्वारा जवाफदेहीताको सुनिश्चितता, नेतृत्व युवा पुस्तामा क्रमशः हस्तान्तरणका लागि मुख्य पदहरुमा दुई कार्यकालको सीमा निर्धारण, आदि । अर्थात् सारमा पार्टी लोकतान्त्रिकरण पार्टी जीवनमा नयाँ रक्तसञ्चार गर्ने विधि हो ।
पार्टी नेतृत्वमा पुगेपछि सिंगो पार्टी नभनेर सस्थापन भन्ने र आफ्ना अन्धसमर्थक र पक्षहरुको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशिल र सिर्जनशिल साथीहरुलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टक्टक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकीर्णताले पार्टी जीवनलाई अस्वस्थ्य बनाउने भएकाले त्यस्ता तरिकाहरुलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।
म विचारको निरन्तरतामा छु । कमिटीमा पहिले देखि यस्ता विचार राख्दै आएको हो । लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ हो । व्यक्तिसँग न आग्रह न पूर्वाग्रह ।दशौ राष्ट्रिय महाधिवेशन पछि हालसम्मको यस अवधिलाई हेर्ने हो भने पार्टी इतिहासमै सबैभन्दा बढी गुटबन्दीमा पार्टी अल्झिको छ । विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरु थिए जसका कारण फरक फरक बुझाईहरु रहने गर्दथे । यस अवधिमा मूल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिँदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ ।
पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ । केही सीमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रवृत्ति हावी भएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाह र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलीय जनवादले सच्यायो । पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलब्धि नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गर्यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन । हामी खासखास समयमा चुकिरहेका छौ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।