सदस्यता खारेजी विद्याको गर्ने कि ‘घुस डिल’मा मुछिएका मन्त्रीको ?

-नारायण गाउँले

ओलीज्यू, जुन मन्त्रीले भूमि आयोगमै माफियालाई नियुक्त गरेर जग्गा हत्याउने सङ्गठित अपराध गरेका छन्, तिनैले भूमि सम्बन्धी कानुन बनाउँदै छन् र त्यो विधेयक फास्ट ट्रयाकबाट पास गर्ने प्रयास हुँदैछ । यसभन्दा ठूलो विडम्बना र कुशासन के होला ? गुप्ताको घूसवाला अडियो सरकारकै परीक्षणमा सक्कली रहेको खुल्यो ।

एमाले या कांग्रेसबाहेक अर्को दल भए सायद उनी पहिलो दिन नै हिरासत पुग्ने थिए । सङ्गठित अपराधमा ९० दिनसम्म भित्रै राखेर अनुसन्धान हुने थियो । उनले अरू धेरै सरूवामा खाएका घूस र कमिशनको छानबिन हुने थियो । स्मरण रहोस्, यो विपक्षी, फेसबुक या पत्रिकाले लगाएको आरोप थिएन, त्यही सङ्गठित समूहबाट लिक भएको प्रमाण थियो ।

तर, दुःखको कुरो त अडियो नै बाहिर आएपछि पनि उनलाई मन्त्रीबाट हट्न एक महिना लाग्यो । यत्तिकै दबाउने प्रयास भयो । त्यसबीच मन्त्रीकै रूपमा कति निर्णय र कारोबार भए । पार्टीकै मुखपत्रले समेत समाचार छाप्न र विरोध गर्नपर्ने स्थिति आएपछि मात्रै निकै सकसपूर्वक उनको राजीनामा आयो ।

हजारौँ कर्मचारीलाई हैरान पारेर उनले खाएको घूसको अडियो छैन, तर भोग्नेहरू छन् । अडियोअघि छापिएका उसका बिगबिगी र घूसखोरीका समाचार छन् । अझ दुःखको कुरो त त्यो काण्डमा मुछिएका अर्का घुस्याहा मन्त्री शानसँग ओलीको सुशासनलाई अघि बढाउन लागिपरेका छन् ।

फेसबुकमा लेखेको भरमा मान्छे थुनिएका छन् तर यसरी छताछुल्ल प्रमाण बाहिर आउँदा र आफ्नै पार्टीले कारबाही गर्ने माग गर्दा पनि भ्रष्टहरू सरकारमै छन् । तपाईंको बोली र व्यवहार मिल्यो त ? सदस्यता समेत खारेज हुनुपर्ने र पार्टीमा ढोका बन्द हुनुपर्ने त तिनको पो हो नि ! त्यस्तो स्पष्ट भ्रष्टाचारमा त संलग्न सबैलाई निर्मम कारबाही गर्ने र एउटा नजीर स्थापना गर्ने अवसर थियो नि तपाईंलाई ! काम गर्ने हो भने यसरी बोल्न पर्ने पनि थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *