काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको बताएका छन् ।
बीबीसी नेपालीसँगको कुराकानीमा पोखरेलले पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्ने बताएका हुन् । उनले भने, ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्यो । पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्यो नि !’
उनले विषय अहिलेनै नटुंगिएको बताए । उनले भने, ‘मलाई के लाग्छ भने यो विषयमा छलफल क्लोज भो भन्ने लाग्दैन । यो विषय फेरि छलफल हुन्छ । यो आमरुपमा हाम्रो पार्टीभित्र निम्त्याइएको विवाद हो भन्ने लाग्छ । प्रधानमन्त्रीले नै अलि छलफल गरेर टुंगो लाग्छ भन्ने लाग्थ्यो । केही दिनअघि प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबीच छलफल भएको थियो । तर यो जुन निर्णय भयो त्यो तेजोबोध गर्ने काम भयो । यो त कस्तो हो भने नागरिकका अधिकारहरुले कसरी अघि बढ्न पायो भन्नु ?’
उनले सल्लाह समझदारीबाट नै कुरो टुंग्याउनुपर्ने बताए । उनले भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेकोमा वेबसाइटबाट हटाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘२०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु ।’