काठमाडौँ । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भीसाको आवेदन खुल्ला गरेको छ । सन् २०२० को फेबुअरी महिनादेखि पर्यटक भीसा जारी गर्न बन्द गरेको भारतले भोलि बिहीबारदेखि लागू हुने गरी आवेदन खुल्ला गरेको हो ।
चीनस्थित भारतीय दूतावासले बुधबार आफ्नो सामाजिक सञ्जाल सिनो वेइबो खातामार्फत सूचना जारी गर्दै भोलि जुलाई २४ तारिखका दिनदेखि चिनियाँ नागरिकहरूले राजधानी बेइजिङ, शाङ्हाई र क्वाङ्चौ (ग्वान्झाउ)मा रहेका तीन भारतीय भिसा आवेदन केन्द्रहरूमा अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।
चीन सरकारले भारतीय कदमको सकरात्मक प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता काे च्याखुनले बुधबारकाे नियमित पत्रकार सम्मेलनमा भने, ‘हामी यो सकारात्मक कदमलाई ध्यानमा राख्छौं । सीमापार यात्रा सहज बनाउनु व्यापक रूपमा लाभदायक छ । चीनले दुई देशहरू बीचको यात्रालाई अझ सहज बनाउन भारतसँग सञ्चार र परामर्श कायम राख्नेछ ।’
भारतले कोभिडको कारण देखाउँदै २०२० को फेब्रुअरी २ तारिखदेखि लागू हुनेगरी चिनियाँ र चीनमा बसोबास गर्ने विदेशीहरूको लागि आफ्नो ईभिसाको सुविधा अस्थायी रूपमा निलम्बन गरेको थियो ।