पार्टीले गरेको निर्णयलाई पूर्वराष्ट्रपतिले लोकतन्त्रको भविष्यसँग गाँसिएको विषय भनेर बुझ्नुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सदस्यता नवीकरणको विषय पार्टीलाई पहिले नै थाहा भएको तर यसबारे उपयुक्त समयमा निर्णय गर्नुपर्छ भनेर सार्वजनिक नगरेको बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने निष्कर्ष निकालीसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको बताए । उनले पूर्वराष्ट्रपतिको फरक भूमिकाको केन्द्रीय कमिटीले नै महसुस गरेकाले भण्डारीलाई पार्टी सदस्य बनाउन नचाहेको बताए ।

उनले भने, ‘सदस्यता नवीकरणको विषयमा पार्टी विधानका हिसाबले पनि हामीले नवीकरण गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय कमिटीको विषय बन्नुपर्दथ्यो। हाम्रो मान्यता त्यही थियो । केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेपछि उहाँको सदस्यतालाई आवश्यक ठानेनौँ।’

महासचिव पोखरेलले पार्टीले गरेको निर्णयलाई पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको भविष्यसँग गाँसिएको विषय भनेर बुझ्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *