विद्या र कांग्रेसबाट ओलीलाई ‘थ्रेट’

काठमाडौं । नेकपा एमालेको नेतृत्व अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने घोषणाबाट तर्सिएको स्पष्टै भएको छ । यदि एमाले अध्यक्ष ओलीले भण्डारीको घोषणाबाट राजनीतिरुपमा असुरक्षित महसुस नगरेको भए उनलाई राजनीतिमा आउन नदिने निर्णय पक्कै पार्टी केन्द्रीय कमिटी बैठकले गर्ने थिएन । भण्डारीले पनि आफूलाई यसबारे पूर्व जानकारी भएको र आफू अब धेरै अघि बढिसकेकाले ‘ब्याक’ हुने ठाउँ नभएको बताइसकेकी छन् । एमाले केन्द्रीय कमिटी बैठकको निर्णय र भण्डारीको कदमले एमाले विभाजनसम्म हुने आँकलन गर्न सुरु गरिएको छ । त्यसका लागि अबका गतिविधिबाट थाहा हुनेछ ।

तर सत्ताको नेतृत्व गरेको एमाले विद्याको कदमबाट मात्र नभई सत्तारुढ दल कांग्रेसबाट समेत ‘थ्रेट’मा परेको छ । खासगरी निजामती विधेयकको कुलिङ पिरियड र भूमि विधेयकका कारण कांग्रेसले एमालेमाथि अनेक आशंका गरेको छ । कुलिङ पिरियडको प्रावधान हटाउन राष्ट्रियसभामा एमालेका पाँच सांसदले संशोधन प्रस्ताव हालेको तथा पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले कांग्रेस सशंकित बनेको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने चेतावनी दिएका छन् । उनले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘कुलिङ पिरियडलाई प्रधानमन्त्रीको निर्देशनमा हटाउने प्रयास भएमा वा समितिबाट गरेको सिफारिसविरुद्ध काम भए कांग्रेसले यो सरकारलाई बचाइ राख्दैन।’ त्यस्तै उनले भूमि विधेयकको विषयमा छलफल चलिरहेकाले यसलाई समितिमा लगेर व्यापक सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि कांग्रेसले न्यूनतम मूल्यमान्यतामा सम्झौता गर्नुपर्ने अवस्था आयो भने सरकार छाड्नुपर्ने बताएका छन् । उनले एमालेसँग गठबन्धनमा भएकै कारणले कांग्रेसको मूल्यमान्यतामा सम्झौता गर्न नसक्ने बताए । उनले भने, ‘हामी सरकारमा एमालेसँग छौँ भन्दै गर्दा हाम्रा आधारभूत कुराहरूसँग, न्यूनतम मूल्यमान्यता जे छ त्यसँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने एक मिनेट पनि नसोची तिम्रो सरकार तिमीलाई मुवारक, हामी आफ्नो बाटो हिँडौं भनेर भन्छु म, त्यो हिम्मत बोकेर बस्नुपर्छ ।’ उनले कांग्रेसका मन्त्रीलाई खल्तीमा राजीनामा बोकेर बस्न सुझावसमेत दिएका छन् ।

कांग्रेस नेता शेखर कोइराला त यो सरकारसँग सन्तुष्ट छँदैछैनन् । उनले त घुस प्रकरणमा जोडिएका मन्त्रीलाई प्रधानमन्त्रीले संरक्षण गरेको र सुशासन दिन नसकेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

गगन, विश्वप्रकाश, शेखर मात्र होइन मंगलबार कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वउपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पार्टी प्रवक्ता डा प्रकाशशरण महत सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर सरकारको कामकारबाहीप्रति असन्तुष्टी जनाएका छन् । भेटमा नेताहरुले सरकारको विषयमा नियुक्ति तथा सरुवा बढुवा पारदर्शी नभएको बताएका थिए । जवाफमा सभापति देउवाले सरकारमाथि प्रश्न उठ्ने गरी नबोल्न र सरकारले विस्तारै सुधार गर्दै जाने आश्वासन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *