नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशक सिहोङबीच भेटवार्ता

ल्हासा (चीन)। चीनको सिचाङस्थित नेपाली महाबाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सोमबार त्यहाँको अध्यागमन कार्यालयका महानिर्देशक वाङ सिहोङसँग शिष्टाचार भेट गरेका छन् ।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा भएकाे भेटमा नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै दुई देशबीचका सीमा नाकाहरूलाई थप व्यवस्थित बनाउन र द्विपक्षीय सम्बन्धलाई भविष्यमा थप सुदृढ बनाउन दुबै पक्षबाट थप पहल गर्ने विषयमा कुराकानी केन्द्रित भएको थियो ।

सो अवसरमा नेपाली महावाणिज्यदूत निरौलाले नेपाल र चीनबीच भौगोलिक सीमा जोडिएको मात्र नभई शताब्दीऔंदेखि सामाजिक र साँस्कृतिक सम्बन्धसमेत स्थापित रहेको उल्लेख गर्दै महावाणिज्यदूतावास र अध्यागमन कार्यालयबीच त्यही मर्ममा आधारित रहेर सहकार्य भइरहेको बताए ।

रसुवागढी क्षेत्रमा हालै गएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल बगाएको, दर्जनौंको ज्यान गएको, दर्जनौं बेपत्ता रहेकाे र करोडौंको क्षति भएको दुःखद घटनाको स्मरण गर्दै चीनतर्फ अलपत्र परेका नेपाली तथा विदेशीको उद्धारमा चीन सरकारले गरेको सहयोगको उनले प्रशंसा गरे ।

महाबाणिज्यदूत निरौलाले सीमानाका अवरुद्ध भएपछि चीनतर्फ अलपत्र परेका नेपालीहरुलाई सुरक्षित बसोबासको ब्यवस्था मिलाएको, कैलाश मानसरोवर दर्शनमा गएर फर्किएका नेपाली तथा विदेशीलाई तातोपानी चाङ्मु नाकाबाट नेपाल फर्किने व्यवस्था मिलाएको र सो नाका सञ्चालनका लागि विशेष चासोका साथ काम अगाडि बढाएकोमा चीन सरकारलाई धन्यवाद दिए ।

सो घटनाबाट बेपत्ता भएका चिनियाँ नागरिकहरुको डिएनए प्रोफाइलसहितको विवरण यथाशक्य चाँडो उपलब्ध गराइदिन उनले चीन सरकारसँग अनुरोध गरेका थिए ।

महानिर्देशक सिहोङले लामो समयदेखि सिचाङको अध्यागमन कार्यालय र महावाणिज्यदूतावासबीच राम्रो समन्वय भइरहेको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई थप प्रभावकारी बनाइनुपर्नेमा जाेड दिए । उनले महावाणिज्यदूतावासका तर्फबाट हुँदैआएको सहयोगका लागि धन्यवाद दिँदै मितेरी पुलको निर्माणकार्य जतिसक्दो चाँडो सम्पन्न गर्न हरसम्भव प्रयास गरिने जानकारी दिए ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्ष साँस्कृतिक आदानप्रदानसहित विशेष कार्यक्रमहरु आयोजना गरिने पनि उनले बताए ।

द्विपक्षीय भेटघाटलाई निरन्तरता दिँदै सीमानाका व्यवस्थापन, एक अर्काको सुरक्षा चासो, भन्सार र अध्यागमनका साझा चुनौतिहरुको दुबै पक्षको समन्वय र प्रयासमा सामना गर्ने विषयमा दुबै पक्षले प्रतिबद्धता जनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *